कोशेली
आज बिहान कान्तिपुर कोशेली (शनिवार २७ असोज , २०६९) मा प्रसिद्ध साहित्यकार कृष्ण धरावासीको 'हिटलरको आँगनमा उभिएर' आलेख पढ्दै गर्दा मेरो आँखा ''विदेशी खासगरी योरोप र अमेरिकेली आइएनजिओलेले नेपालमा दह्रो जरा गाडेर रहेको हिन्दु संस्कृति र .................नेपालमा हिन्दु संस्कृति कमजोर हुँदा यहाँका जनजातिहरूको संस्कृति त झन् विलय नै हुन पुग्छ, त्यसलाई बचाएर राख्ने भनेको पनि यही मूल संस्कृति नै हो'' लेखिएका हरफमा अडिए | धरावासी कम्युनिस्टधारका लेखक र चिन्तक हुन् | उनी हिन्दु-संस्कृतिका उपज भए तापनि आफुलाई धार्मिक आधारमा विभाजन गरेको मन पराउन्न | उनले लेखेको सत्यलाई स्वीकार गर्ने आँट 'राजनैतिक भक्त' वा 'भोट-भक्त'मा नहोला तर उनले नेपालको सत्य लेखेका छन्, बोलेका छन् | धेरै साहित्यकारमा यस्तो वीरता विरलै पाइन्छ | नेपालीपन र नेपालीमनले तिनलाई धन्यवाद दिन अह्रायो किनभने कम्युनिस्ट साहित्यकारहरू नेपालको वस्तुगत सत्यसंग डराउँछ | झन् मानवाधिकारवादीहरू सत्यलाई आत्मसात् गर्नै चाहन्नन् | काठमाडौँको सम्भ्रान्त वर्गमा हुर्किएको नागरिक समाजले 'आइएनजीओ'बाट धन-आशिर्वाद पाउने कुरा कसैबाट लुकेको छैन | उनीहरूबाट 'सत्य'को आसा कसरी गर्न सकिन्छ ?
मेरो क्रिश्चियनहरूसंग कुनै वैरभाव छैन | मेलै केही बाल्यकालका केही महत्वपूर्ण वर्षहरू 'क्रिश्चियन विद्यालय'मा बिताएको हूँ | आजपनि कतिकति वेला बाइबलका भजनहरू मेरो मुखमा आइपुग्छन् | मलाई राम्रो लाग्छ | वि. स. तिर २०५४ ललितपुरको कुरा हो | मैले दर्शनशास्त्रमा विद्यावारिधि गरेर फर्केपछि जागिर खोज्दै थिएँ | मेरो सम्पर्क भयो एकजना 'धर्म-प्रचारक' संग | मलाई जागिर चाहिएको थियो, उनले मलाई आफ्नो चर्चका 'पास्चर'संग भेट गराए | पास्चरले एक जना 'गोरे' कहाँ मलाई लगे | 'गोरे'ले दुईदिन पछि सोझै भने 'धर्म परिवर्तन गरेर, धर्म प्रचारमा लाग्नुहोस्, हामीलाई तपाईं जस्ता विद्वानहरूको ठूलो खाँचो छ | दश लाख रुपैयाँ र घरको ब्यबस्था हामी गर्छौँ | छोराछोरीले 'नर्वे'मा फ्री मा पढ्न पाउनेछन् |'' मैले विचार गरेर जवाफ दिने वचन दिए | दशलाखको रापले मलाई कताकता पगालिरहेको थियो | फेरी उनीकहाँ म गइन तर दशलाखको रापले आजपनि मैले 'गल्ति त गरिन' भनेर बेलाबखतमा सताउने गर्छ | आज असंख्य नेपालीहरू आफ्नो मूल संस्कृतिबाट पलायन गरिरहेको कुराले मलाई पोलिरहेको छ | धरावासीहरूलाई पोलिरहेको छ | पोले पनि 'धेरै'जसो बोल्न र लेख्न सकिरहेका छैनन् | केहीले 'शासकहरूको' नूनको सोझो गर्न बोल्न र लेख्नबाट आफुलाई अलग राखेका छन् |
आज दशैको पहिलो दिन, देशभरी घटस्थापनाको चटारो छ | मैले बिहानै फेसबुक खोल्दा दशैँ,तिहार र छठको शुभकामनाबाट आफ्नो पेज भरिभराउ पाएँ | केहीलाई 'लाइक' भने केहीलाई हेरें मात्र | केही 'जनजातिआदिवासी'को थर भएका मित्रहरू 'दशैतिहार' बहिस्कार गर्न अनुरोध गर्दै रहेछन् भने तिनको खण्डन गर्नमा आफ्ना शब्दहरू खर्च गरीरहेको पाएँ | मलाई टिप्पणी गर्न मन लाग्यो |कसरी र के लेखूँ, एकैछिन् एकोहोरिएं | यो मेरो एकोहोरोपनमा नेपालीपन रोइरहेको थियो | केही नेपाली मित्रहरू दशैतिहारप्रति यतिबिघ्न उग्र हुन् सक्छन् भन्ने मैले सोचेकै थिइन | आखिर, ९०% नेपाली जनताले कुनैनकुनै रूपमा दशैँतिहार त मान्छन् नै !! आफु क्रिस्चियन, मुस्लिम वा अन्य दशैँ-तिहार नमान्ने अमुक धर्म वा समुदायको 'अनुयायी' भएकोमा दशैँ-तिहार नमान्नु प्राकृतिक कुरा हो | यदि कसैले कुनै चाड मान्न जवर्जस्ती गरिनु हुन्न तर अरूको 'आस्था'मा प्रहार गर्नेले आफ्नो धरातल बुझ्नै पर्छ | नेपालीहरूले हिन्दु-चाडमात्र मान्दैनन् | नेपालीहरूको विविधताअनुसार चाडवाड पनि असंख्य छन् | पहाडीले 'टीको' थापेर तिहार मान्छन् भने मधेशीले 'दशहरा' मनाएर | तामांग-गुरुंगले सेतो अक्षता लाउँछन् भने बाहुनक्षत्रीले रातो | यदि कसैले दशैँतिहार मान्दैन भने 'तास' खेलेर वा अरूले मनाएको हेरेर रमाउन सक्छन् | नेपाली संस्कृति र संस्कारमा 'अर्काको संस्कृति'लाई अवमूल्यन गर्ने कुरा 'आइएनजीओ'को गोजीबाटबाट 'नवदीक्षित क्रिस्चियनहरूबाट' नेताहरूको दिमागमा पसेको हुनुपर्छ |
मेरो पहिचान नेपाली हो र त्यो पहिचान नेपालमा रहेका जीवन्त संस्कृति, परम्परा र आस्थाबाट बनेको हो | मेरो नेपालीपनको पहिचान मलाई मेरो संस्कृतिले दिन्छ | मलाई 'पहाडे बाहुन' हुनुमा जति गर्व छ, त्यतिनै गर्व मेरो देश राई, लिम्बु, मगर, गुरुङ, किराँत, बोन्पो, बौद्ध र अन्य परम्परागत सांस्कृतिक समुदायबाट चिनिन्छ भन्ने कुरामा छ | मैले आफ्नो संस्कृति, परम्परा र बोली जोगाउन गरेका सबै अहिंसक आन्दोलनहरूको सतप्रतिशत समर्थन गर्छु | बहुलता मेरो र नेपालीको पहिचान हो भने सांस्कृतिक आस्था मेरो आत्मा | कसैले मेरो बोन्पो, किराँत वा अन्य परम्परागत संस्कृतिमा प्रहार गर्छ भने 'मेरो आस्था'मा प्रहार भएको ठान्छु | देशको जनसंख्याको अनुपातका कारण 'दशै- तिहार' कद केही अग्लो छ | यसले अन्य चाडपर्व र आस्थामा कुनै फरक नपरोस् | 'हिन्दु धर्म मान्दैनौं' भन्ने बौद्धहरूलाई जवर्जस्ती ॐकार परिवारको सदस्य बन्नु पर्ने हठ हिन्दुहरूले त्याग्नुपर्छ भने बौद्धहरूले पनि 'हिन्दुत्व'नै आफ्नो उद्गमस्थल भएको कुरामा सोच पुर्याउन पर्छ | किराँत धर्मावलम्बीहरुको ॐकारले तिनीहरूलाई बौद्ध र हिन्दुको निकटतम नातेदार रहेको प्रमाणित गर्छ | यस्तो मित्रतापूर्ण परिवेशलाई 'विथोल्न प्रयत्नगर्नेहरू' कमसेकम नेपाली संस्कृति र आस्थाका मित्र हुनै सक्दैनन् | यही मेरो भन्नु हो |
बाहुनक्षेत्री होस् वा जनजातिआदिवासी 'थर'लेख्दैमा कसैको साँस्कृतिक पहिचान र आस्था जोगिन्न | संस्कृति र आस्थाको नाममा 'आदिम युगमा' फर्कने कुरा पनि बाहियात हुनेछ | आफ्नो चालचलन, आस्था र संस्कृतिलाई जोगाउन एवं प्रवर्धन गर्न अर्काको अस्तित्वलाई नकार्न पर्दैन | कुनै पनि जातजाति वा बर्णाश्रमको व्यक्तिले 'मेरो नाक यस्तै हुनुपर्छ' भन्ने शर्त तय गरेर जन्म लिएको हुन्न तर आफु उभिएको धरातल के गर्दा सुरक्षित र विकसित हुन्छ भन्ने कुरा हामीले विचार पुर्याउनै पर्छ | मन्दिर, गुम्वा, थान, चालचलन, मूर्तिपूजा, चाडपर्व र स्वीकार नेपालीहरूका पहिचान हुन् | मन्दिर, मूर्ति, चालचलन, संस्कृति र परम्परालाई धिक्कार्ने वा गालिगर्नेहरू नेपाली संस्कृति र परम्परालाई विगार्न, भिडाउन चोरबाटोबाट छिरेका 'पिसाच' हुन् | यी बाट सावधान हुनै पर्छ | हामी सबै परम्परागत नेपालीहरूले 'यिनको' अहिंसक तवरले साझा प्रतिकार गर्नुपर्छ | रामेछापको गुम्वामा 'हग्न' उक्साउने, मूर्ति र परम्परागत आस्थालाई 'शैतानको जालो' भनेर पैसा बाड्नेहरूसँग साझा संयन्त्र निर्माण गरेर भिड्नु पर्छ | एउटा नेपालीले अर्का नेपालीको साँस्कृतिक पर्वको विरोध गर्नुको सट्टा हाम्रा संस्कृति र आस्थालाई 'शैतानको जालो' भनेर आस्था परिवर्तन गर्दै हिड्नहरू विरुद्ध सचेतता अपनाउनु उचित हुन्छ |
नेपाली संस्कृतिको रक्षा हुनुपर्छ भन्ने मनसाय रहेका अधिकार कर्मी र नागरिक समाजका प्रतिनिधिहरूको नेपाली समाजमा कमि छैन | तर धेरैजसो काठमाडौंको सम्भ्रान्त परिवारमा जन्मेका र हुर्केका समाजकर्मी र नागरिक समाजको खोल ओढेर नेपालीहरूको पहिचान मेट्न प्रतिज्ञारत छन् | समाज सेवाको खोलमा 'धर्मपरिवर्तन गराउन लागिपरेका' आइएनजीओ र तिनको 'खुला गोजीमा पल्केका नेताहरूको असल चरित्रका वारेमा चर्चा गरेर समय वर्वाद गर्न चाहन्न | यी मानवाधिकारका ठेकेदारहरूले आस्था परिवर्तनको मारमा परेर मासिँदै गएका हिमाली भेकका गुम्बा, काठमाडौं उपत्यकाका मन्दिर र चैत्यको रोदनलाई सुन्न सक्दैनन् तर एउटा लेख लेखेर आफ्नो परम्परागत आस्थाप्रति कुरा राख्नेलाई 'पश्चगामी, प्रगति विरोधी, धार्मिक सहिष्णुता बिथोल्ने शक्ति' भएको एकोहोरो आरोप लगाउँछन् | डलरको खेती र विलासितापूर्ण जीवनका लागि 'सांस्कृतिक' बलिदानीहरूलाई के भन्ने !!! एकजना सरकारका मन्त्रीले नै यस्तो आस्था परिवर्तनको नेतृत्व गरिरहेको कुरा 'हिमाल'ले छापेको कुरा धेरै वितेको छैन |
नेपाली समाजमा रहेको एकात्मकता नदेख्ने राजनेताहरू, नेपाली जनतालाई भिडाउन इतिहासको अपव्याख्या गर्दै विद्वतता देखाउने विश्वविद्यालयका प्राध्यापकहरू र सांस्कृतिक पहिचानलाई 'गोरा'का हातमा सुम्पन तयार नागरिक समाजका स्वयम्भूहरू आफ्नो विरासत नासिंदा रम्न सक्छन् तर एउटा सचेत नागरिकलाई यसले पीडा दिन्छ | किराँती होस् वा हिन्दु, मगर होस् वा बोन्पो, लिम्बु होस् वा माझी मेरो लागि शरीर कै एउटा अंग हुन् | जुन संस्कृतिमा प्रहार भए पनि मेरो अस्तित्व नै लुटिन्छ | अस्ति मात्रै पाकिस्तानमा एकजना क्रिस्चियन बालिकालाई तालिवान अतिवादीले गोली हानेर मार्ने प्रयत्न गरे | सौभाग्यवस उनी बच्न सफल भईन् | संसारका क्रिस्चियनहरूले मानवअधिकारको चर्को आवाज उठाए तर केही दिन अघिमात्र पाकिस्तान मै एउटी हिन्दु बालिकालाई बलजफती मुस्लिम बनाएर विबाह गरियो, चार जना हिन्दुहरूलाई घाँटी रेटेर मारियो - लन्डन लगेर उपचार गरिएन | बालिकाप्रति मेरो सद्भाव छ तर यसले क्रिस्चियनहरूको 'द्वेध चरित्रलाई' उजागर गरेको छ | हामी नेपालीले दशैको शुभअवसर पारेर 'आस्था परिवर्तन र साँस्कृतिक विनाशको' यस दुष्चक्रलाई मिलेर पराजित गरौं, आफ्ना आपसी समस्या पछि मिलाउने बाचा गर्दै |
नेपाल र नेपालीको जय होस् |
No comments:
Post a Comment