Thursday, 16 August 2012

 एउटा कथा ।


म आफू एउटा कथा हुँ ।भेटेका हरेक मान्छे पात्र हुन् । जसको बजारमा माघ छैन । पाठक छैनन् र दोस्रो संस्करण निसकने छैन । बाच्ने शैली बेरागात्मक छ । बिगत सम्झने उत्तिसाह्रो फुर्सैद छैन । मानौ ती पात्रहरु हावाले उडाउँदै गरेको कपासको छायाँ हुन् जो अब दोहोरिएर म बाँचेको बाटो फर्कने छैनन् । एकाद पात्रहरुले कतैन कतै पछाई रहेकाछन् । जीवनसँग कतै न कतै आएर ठोक्कि रहेकाछन् । र, ती नै पात्रहरुलाई कहिलेकाँही फल्यस ब्यगमा उभ्याएर उनीहरुसँगै बेराग बगिरहन्छु । दुई वर्ष पहिले जीवनसँग थाकेका, प्रगतिमा ओरालो खसकदै गरेका एक जना मित्र पूजा पाठ गर्न र देवलय भाकल गर्न थालेका रहेछन् । जसले मलाई उनले चिनेका एक ज्योतिष कहाँ साथीको नाताले लिएर गएका थिए । ती मित्रलाई “शनिको दसा छ । ग्रह दसा को पाठपूजा गर्नु । शनिबार वर पिपलमा पानी चढाउनु” भनेको थियो । मलाई चाहिँ “जीवन सामान्य छ । कुनै मोडमा तँ जोगी हुन्छस्” भनेको थियो । उस दिन देखी आजसम्म मेरो जीवन उही गतिमा धकेलिरहेको छ । कतै संगीतको राग जस्तो शैली मिलेको तरंग छैन । भविश्यसँग चिन्ता छैन । आसा गर्ने सपना पनि छैन । त्यसैले ज्योतिषले जे भने पनि मेरो जीवनको कुनै कुनामा चिन्ताको दल सरेन । रु.पचास ज्याला दिए पछि म उसको दैलोबाट बलेसीमा झरेको थिँए । तीन दिन अगाडि पशुपति जान मन लाग्यो । कारण केहि थिएन । मंसिर मैनाको घाम,पशुपतिको भिडभाडमा कसैलाई भाग नलगाई सिंगैै तापिरहें जसरी तापिरहेका थिए,स्वर्ग जाने बाटो खोज्न आएका सन्यसी योगीहरु । पैताला सम्म खसेको लट्टे दारी, उस्तै आकारको कपाल,पुरै खरानी दलेको खाई लाग्दो ज्यान । यो भन्दा अगाडी त्यत्तिको बलियो योगी कहिलै देखेको थिइन जसले आफ्नो छोप्नु पर्ने एक अंश मात्र छोपेको थियो । उसैको छेउमा उभिएँ, नाम र घर सोधँे । योगीहरुसँग सपना हुदैन, सपना र रहर नभएको मान्छे रिसाउँदैन भन्ने लागेको थियो तर त्यो योगीले मलाई रिसाएर भन्यो । “योगीको नाम, घर, थर, र जात सोध्ने तँ कोहोस् ।” म उठेर हिड्न खोजँे । उति नै खेर कुनै विदेशीलाई टेक वीथ मि पिक्चर, वान पिक्चर टु हन्ड्ररेड भनिरहेको थियो । सम्झँे, भरे उसकी स्वस्नीले उसको खल्तिबाट सन्ध्यकालीन आय बिवरण खोज्नेछे वा दिन भरि खैरेसँग फोटो खिचाउदा थाकेको शरीर ठमेलको कुनै मसाज सेन्टरको गेटमा बिसाउने छ । उसको बाच्ने शैली हो, जसरी बाचोस् । म अलि पर सरें र रमितेहरुमा थपिए । पारी लासहरुको लाईन छ । प्राय जसो आधा डढिसकेका छन् । लासहरुको उमेर फरक छ । नरबाहादुरको सेकुवा पसलबाट आउने गन्ध र लासहरुबाट आउने गन्ध एक समान्नतर रेखा जस्तो लाग्छ । सबै लासहरुबाट उडेको धुवा र फैलिएको गन्ध एकै रङ्ग, उस्तै आकार र गतिमा हावाले बोकेर दगुरिरहेको छ । मेरो आँखामा धुवाको कालो रङ्ग,नाकमा लासको गन्ध र मेरो मथिङ्गलमा म भन्दा पञ्चहत्तर वर्ष जेठी र बीस वर्ष पहिलेको भोल्टि सर्किनीको अनुहार पौडिरहेको छ । मेरो आँखामा उनका, भिराला खेतका गह्रा जस्ता गाला र तुषारोको बिहान जस्तो कपाल तैरिरहेको छ । जसलाई मेरा बा र हजुरबाले कहिल्लै हाम्रो मजेरीको रङ्ग उनको आँखाको नानीमा पर्न दिएनन् । घरको दलिन उनका औँलाका चक्रले छाम्न दिएनन् । उनी मलाई कान्छ बाजे भन्थिन् । म उनलाई “भोल्टि र तिमी” सम्म भनेर सम्बेधन गर्थे । जस्तो मलाई सिकाइएको थियो । हाम्रो बेसीमा उनी असार रोपिन्थिन् र मंसिरमा बिस्कुन सुक्थिन् । हरेक साँझ उनी आफ्नो अगेनमो बल्थिन कि बल्दिन थिईन मलाई राम्ररी थाहा भएन । तर उनी जीवन बोकेर हाम्रो घरमा बेसाहा किन्न आउनेहरुलाई थांग्रोबाट मकैका जुक्ता ओरालेर कुनै रहर नबोकी बाँचेकी हुन्थिन् । मैले आँखाको बाराबर बिन्दुमा मेरा हजुरबा र भोल्टि सर्किनीको लास जलि रहेको सम्झिएँ । जो यिनै लासहरु झै बराबर गनाई रहेका थिए । अन्तमा दुवै स्वादहीन खरानी भएर सुनकोसिमा बगेका थिए । म मेरो हजुरबाको मथिङ्गलबाट उम्किएर डिलमा उभिएको छु जहाँ सबैले ओडेको क्षितिज एकै आयतनमा फैलिएको छ । धेरै बेर सम्म उनैलाई सम्झि रहें । घाट भित्रदै गरेको एउटा नयाँ लासले ध्यन फेरि लासहरुको लाममा तन्यो । त्यो लासको उमेर मेरो बराबरको हुनु पर्छ । मलामीहरु मेरो एम. ए. कक्षाका संख्या जति छन् । सबै तन्देरी छन् । लासको उमेर र मलामीको उमेर प्राय मिल्छ । रुनेकाहरुको संख्य धेरै छैन । एक जना ठूलो स्वरमा धित मर्ने गरि रुहिरहेको छ । बुझदा उसको बाबु रहेछ । टी.यू. मा एम.एसी. पढ्दा पढ्दै साईनाईट खाएर आत्महत्या गरेछ । ठिक्कैछ उसको मृत्यु उसको अधिकार, बाँच्न मन लागेन म¥यो । के भयो त ? कसैले कायर भनेर उसको जीवनको स्तर घट्ने छैन अव । आफ्नो जीवनयुद्धमा सहिद भयो । सकियो । आत्महत्य गर्नु कायर हैन बाहादुरिता हो । मन्ले भन्यो । तर एक पल्ट मर्नु छ किन साईनाईट खाएछ मनमा उसको मृत्युको पछुतो फैैलियो । बिचराले मर्नुको आन्नद लिन पाएन । मर्नै पर्ने भए बिस्तारै घाटिमा ब्लेडले सानो नसाकाटेर मृत्युको अनुभब लिईलिई मर्नु राम्रो हो । बाग्मती अल्छि मानि मानि बगेको छ । पानीको धर्म बग्नु हो । धर्म निभाई रहेको छ । आज नबग्नु पर्ने भए लेदो त छदै थियो जमेर बस्ने थियो होला । आफ्नो मृत्यु सकनु अघि घामले मेरो लामो छाँया धमिलो पानीमा खसाल्यो । आफ्नो उमेर सम्झेँ, २६ वर्ष । कुनै रोग सम्झेँ, केहि छैन । मेरो आयु सम्झँे र पारी लासका लाईन हेरें । अब सरासर बाँच्न पाँए भने ३५ देखी ४० वर्ष । बीचमा आत्महत्य गर्ने योजाना छैन । तर मृत्युको रहर छ । भयानक पिडादाही मृत्यु जसले मलाई दुःखको जस्तै अनेक अनुभब दिईयोस् । चरम भोक र परकाष्ठ प्यासको पिडा जस्तो अनुभब । हिउँमा खाली खुट्टाको जस्तो पिडा । या कसैले यताना स्वरुप बाघको खोरमा हालिदिने खबर जस्तो, जीवनको अनुभव । साँझ पर्न लागेको छ । जोगीहरु पातल्ली सकेकाछन् । बाँदरहरुको चहलपहल घटेको छैन । पशुपतीमा आरती सुरु भएको छ । एक किसिमको संगीत हृदयमा गुन्जियो । यहाँ पनि जीवनको एक आन्नद छ । बैरागीहरुको एक झुन्ड ईश्वरको शरणमा आइपुगेको छ । जहाँ आन्नद छ त्यहाँ ईश्वर हुनुपर्छ । रागमा विलिन यो साँझमा मलाई आन्नद आयो । दुई किशोर केटाहरु पानीमा चुम्मकको डल्लो हालेर डलर पैसाको तानी रहेकाछन् । जीवन जसरी पनि बाँचेर सक्नु छ । बाचिरहेकाछन् । एउटाले अनुहार उज्यालो पारेर खल्तिमा हात हाल्यो । लगातार एक दुईका सिक्का भेटेको हुनु पर्छ । रमाउने अनेक तरिका हुन्छन् उ रमायो । मलाई आन्नद आयो । यी किशोरले कहिल्लै आत्महत्या गरेर जीवन सक्दैनन् यीसँग ठुलो सपना छैन जीवनमा स सानो युद्ध गर्छ र जितिरहन्छ । अघि साईनाईट खाएको लास जलि सकेको छ मैले जीवनको त्यो सहिदलाई मनमनै सलामी दिए । म अहिले घर फर्कन लागेको छु । यता टहलिने रहर पुगेको छैन तर घाम टाकुराबाट खसिसकेको छ । बाटामा फेरि सम्झँे मलाई जोगी हुन्छस् भन्ने ज्योतिषीको भग्य कस्तो होला । उसको भविषमा कस्ता आरु बखडा फले र चिचिलामा झरे । कुन दिन धुरीमा काग करायो र दिनभरि असुभको डरले कामिरहयो होला । मलाई लाग्छ त्यो ज्योतिषी पनि कहिल्लै आत्महत्या गर्दैन । ती मित्र जो जीवनसँग बैरागिएर ज्योतिषीकोमा भविष्य बोकेर पुगेका थिए । उनको जीवन प्रति दया लागेर आयो । मलाई गालि गर्ने योगीले दारी र कपालको ब्यापार गरेकोमा आन्नद लागेको छ । कम्तिमा एकै जीवन दुई पाटाबाट अनुभब गर्र्न पाएको छ । उ जोगी र बेश्यलयको ग्राहाक एकै पल्ट हुन सक्छ । भोल्टि सर्किनी उनको जीवनमा सधै गहिरिएर बाँच्न खोजेको छु । आफ्नो जीवन हदै सम्म फिक्का र दिक्दार लाग्छ उनको जीवनको अगाडि । त्यो आत्महत्या गरेको लास जसले मलाई मृत्युमा पिडाको रहर जगाई रहेको छ । वाग्मतीमा पैसाका सिक्का खोज्ने किशोर जसले जीवनसँग स–साना युद्ध गरेकोमा मेरो जीवनसँग मिले जस्तो लागि रहेको छ । म घर फर्कि रहेको छु गौसला चौकमा आई पुग्दा धेरै ठाउँमा चर्किए । जीवनसँग राग नमिलेका यी अनेक पात्रहरुसँग म पनि थपिए । भविष्यसँग कापिरहेको मित्र त्यो ज्यातिषी त्यो योगी मेरा हजुर बा भोल्टि सर्किनी त्यो लास ती केटाकेटी पसुपतीमा बजेको आरतीको राग मैले बाँचेको मेरो आफ्नै जीवन एक झुण्ड एक बेराग संगीत बदलियो


समकालीन साहित्यिक रचना

Sunday, 5 August 2012

गजल -
 इन्दिरा खतिवडा
"प्रयास"
 चाहेर नि चन्द्रमा छुनै सकिन
 समाजको नमुना हुनै सकिन
 एकान्तमा बसेर आँशु झारे नि
 पिरब्यथा आँशुले धुनै सकिन
 जिवनको आपुरो यात्रा भए नि
 भाग्यलाई धिकारी रुनै सकिन
 उद्देश्य त राखेथें तिर्छु भार नि
 सबै सकें तिरेर गुनै सकिन
 चाहेर नि चन्द्रमा छुनै सकिन
 समाजको नमुना हुनै सकिन
- पुष्पराज खतिवडा
 वर्षा लागि सक्यो नानी छानो कस्तो छ ?
परिवर्तनको आभाष दिने रानो कस्तो छ ?
 जे गर्दा नि ताली लाउने बानी परिसक्यो
 खोया मात्र फल्ला है दानो कस्तो छ ?
 कुरा सुन्दा मीठो लाग्यो बास्ना कस्तो आउला
हेर्दै स्वाद थाहा हुन्छ चानो कस्तो छ ?
 जे जे भन्छन् पण्डित जी स्वाहा गर्नुपर्ने ।
थाहा छैन सेला हाल्ने गानो कस्तो छ ?
 पेटभरि खान पाए हुन्छ भन्थ्यौ पहिले
अघायौकी अघाएनौ मानो कस्तो

Thursday, 2 August 2012

जनैपूणिर्मा 

हिन्दु धर्माबलम्बीहरुको महान चाड जनैपूणिर्मा आज धुमधामका साथ मनाईदै छ हिन्दु धर्माबलम्बीहरुको महान चाड जनैपूणिर्मा आज धुमधामका साथ मनाईदै छ । बिहान सबेरै विधिपूर्वक जनै मन्त्रन यजमानहरू आ-आफ्ना गुरु-पुरोहितकहाँ जाने गर्दछन् । हिन्दू दर्शनअनुसार जनैलाई ‘ब्रहृमासूत्र’ अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रहृमा, विष्णु, महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ । यस उपलक्ष्यमा तागाधारी जातिले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने तथा जौ, तिल र कुशद्वारा ऋषितर्पणी गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई ‘जनैपूणिर्मा’ पनि भन्ने गरिन्छ । यसैगरी आजको दिन देह शुद्ध गरी देवता, सप्तऋषि तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ‘ऋषितर्पणी’का नामले पनि चिनिन्छ । आजको दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेको क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वषर्ाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ । तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदीबहिनी र दाजुभाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ । आजका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ । आज काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, जनकपुरधामको गङ्गासागर तथा धनुषसागर, जुम्लाको दानसाधु, त्रिवेणीलगायतका स्थानमा पवित्र स्नान गरी महादेवको पूजाअर्चना गर्न भक्तजनहरूको ठूलो घुइँचो लाग्दछ । नेवार समुदायमा आजका दिनलाई ‘गुन्हु-पुन्ही’ भनी मनाइने परम्परा रहेको छ । विभिन्न प्रकारको स्वरबाट वषर्ा र खेतीको कामबारे कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन रहेको छ । आजकै दिन भगवान् गौतमबुद्धले आफ्नो कामशक्तिमाथि विजय प्राप्त गरेका थिए भनेर बौद्धग्रन्थको ललितविस्तारमा उल्लेख गरिएको छ । आजका दिन स्वयम्भूमा पनि ठूलो मेला लाग्दछ ।