नेपाली लोकगीतको इतिहास
नेपाली लोकगीतको झन्डै २०० वर्ष पुरानो इतिहासमा धौलागिरि अञ्चल यसको विकास र प्रवद्र्धनका हिसाबले अग्रभागमा देखिएको छ । लोकगीतको आधारभूत लय भनेको झ्याउरे लय नै भएका कारण लोकगीतको लामो विकासक्रममा यस क्षेत्रको योगदान महत्वपूर्ण रहेको प्राज्ञ एवम् अन्वेषक प्रेम छोटा बताउछन् ।
‘लोकगीत पुरानो झ्याउरे लयको विकसित रुप हो, झ्याउरे गीतको उद्गमस्थल बागलुङ भएकाले पनि लोकगीतको क्षेत्रमा धौलागिरि अगाडि आउने नाम हो’–छोटाले भने– ‘लोकगीतको सूत्रपात बागलुङबाटै भएको अनुसन्धानले पुष्टि गरेको छ ।
’ बागलुङ जिल्लालाई लोकगीतको उद्गमस्थलका रुपमा मानिएको छ ।
विसं १८७४ मा बागलुङ, बलेवा नेपानेका मनवीर मुखिया र राङखानीका गो¥या श्रीषले पहिलोचोटि झ्याउरे भाकामा ‘सालैजो’ गाएको इतिहासमा उल्लेख भएको छोटाले जानकारी दिए ।
तत्कालीन समयमा अङ्ग्रेज र गोर्खाली फौजबीच भएको युद्धमा गोर्खालीले हार बेहोरेपछि पराजित मानसिकतामा ‘हाई गोरी’ भन्ने बोलको गीत गाइएको थियो । त्यो नेपाली झ्याउरे भाकाको पहिलो गीत भएको अनुसन्धानले पुष्टि गरेको छोटाले जानकारी दिए ।
यसलाई विश्वविद्यालयले पनि मान्यता दिइसकेको छोटाको दाबी छ ।
गण्डक क्षेत्र र विशेषगरी धौलागिरिआसपास लोकगीतका लागि उर्वर क्षेत्र मानिन्छ । यहाँ प्रचलनमा रहेका सालैजो, यानिमायाँ, सुनिमाया, विनासालैजो, नानीलैजस्ता मौलिक लोकभाका झ्याउरे गीतबाटै विकसित भएको छोटाले तर्क थियो । विसं १८७४ तिर गाइएको ‘हाई गोरी’ देखि हालसम्म आइपुग्दा नेपाली लोकगीतसङ्गीतमा कायापलट नै भएको यस क्षेत्रका जानकारको भनाइ छ ।
सालैजो भाकामा गाइएको ‘हाई गोरी’ भन्ने बोलको गीतको ऐतिहासिकताको आडमा अहिले हजारौं लोगगीतको जन्म गराइदिएको छ । ‘हाईगोरी’ बोलमा झ्याउरे गाउने मनवीर मुखिया र गो¥या श्रीस तथा पछिल्लो समयमा नेपाली लोकगायनमा रुचाइएका पर्वतका गायक कुलेन्द्र विश्वकर्माले स्वर दिएको ‘डाँडै फुर्के सल्लो’ बोलको गीतसम्म आइपुग्दा धौलागिरि क्षेत्रमा लोकगीतकोे विकास र उपलब्धिको अवस्थालाई चित्रण गरेको संगीतकार श्रीकृष्णबम मल्लले बताए ।
No comments:
Post a Comment