| “मेरो घर सिराहाको लाहान हो। पहिला अँगालो हालेर सँगसँगै हिंडेका साथीभाई पनि अहिले पराई जस्ता लाग्छन्। आफै जन्मेको ठाउँ जाँदा पनि इराक र अफगानिस्तान गए जस्तो लाग्छ।” एकजना मित्रले केही दिनअघि मात्रै मसँग यो कुरा गरेका थिए। उनी को हुन र के हुन, म खोल्न चाहान्नँ। (गोपनियताको हक) | |
| यस्तो अनुभूति अहिले सबै जाति र समुदाय (मधेसी, पहाडी, दलित, जनजाति, क्षत्री, ब्राह्मण) सबैले गरीरहेको म पाउछु। हिजो हाम्रो समाज यस्तो थिएन। आज किन भयो? उत्पिडनको परिणाम यस्तै हुन्छ भन्लान कतिपयले। एउटा समुदाय प्रति अर्को समुदाय त्रसित र सशंकित हुनुपर्ने कस्तो परिणाम हो यो? के हामी सहि बाटोमा त छौं ? | |
| जसले उत्पिडनको कारणले यसो भएको हो भन्छ उसको ‘सनक’ प्रति मेरो केवल करुणा भाव छ। उसको मनको हिंसक तत्वले पोखिन चाहीरहेको छ र पोखिने बाटो खोजीरहेछ भनेर म बुझ्छु। उत्पिडनकै कुरा गर्ने हो भने मेरो पुर्खा र म आफै पनि कुनै मधेसी, जनजाती वा कुनै अमुक पछाडी पारिएको समुदाय भन्दा कम उत्पिडित होइन। अझ मधेसी र जनजातिबाट समेत उत्पिडित भएको हुँ म र मेरो पुर्खा। त्यसको बदला लिन के म सबैको घाँटी न्याक्दै हिडौं अहिले ? एउटा विवेकशिल मान्छेले त्यसो गर्न सुहाउछ ? | |
| फेसबुकमा मलाई (जबरजस्ती) एड् गरिएका अनेकौं ग्रुपहरुमा भएका वहस र टिप्पणीहरु पढ्छु। अनेकौं जाति र समुदायको नाममा खोलिएका ति ग्रुपहरुमा कसैले पहाडेलाई गोली ठोक्ने सम्मका कुरा लेखीरहेको छ। कसैले हामी मुलबासी भएकोले अरु जहाँबाट आएका हुन् उतै लखेटौं भनेर लेख्न भ्याउछ। कसैले कथित उच्च जाति हाम्रा शत्रु हुन भनेर लेख्दैछ। कसले दियो यो कुबुद्धी ? बुद्धको यो तपोभूमीमा एकाएक हामी एकअर्काको रगतको प्यासी किन हुन खोजीरहेका छौं? | |
| इतिहासका कुरा मानवशास्त्रीहरुलाई बुद्धिविलास गर्नको लागि छोडीदिउँ अहिलेलाई। ति बुढाहरुसँग हिजोको भूत मात्रै छ तर हामीहरुसँग कठोर वर्तामान र अनिश्चित भविष्य छ। हाम्रो चिन्तन यसलाई उज्ज्वल बनाउन केन्द्रित हुनुपर्छ न कि तँ फलाना समुदायको म फलाना समुदायको भनेर लड्नमा। | |
| म दोष युवा पुस्तालाई दिन चाहान्नँ। यो जोशले भरिएको पुस्ता अबोध बालक झैं छ। जे अह्रायो त्यही गर्छ। केही नेता, केही प्रध्यापक, केही डाक्टरहरुले नयाँ पुस्ताको दिमागमा भाइचारा होइन, भाइरस भरिदीए। भाइरस फैलदैछ। | |
| हाम्रा अग्रज भनाउदाहरुले शसक्तिकरणको नाममा जातीय र क्षत्रीय लडाकु दस्ता बनाउन सिकाएछन्। इतिहासमा भएको उत्पिडनको कहानीमा फुलबुट्टा भरेर नयाँ पुस्तालाई अर्को समुदाय प्रति घृणा र वैरभाव फैलाउन सिकाएछन्। सबैले बुझौं, इतिहासको कुरा सम्झेर अहिले गलत ठाउँमा उर्जा खेर फाल्ने समय होइन यो। समयमै बुझेनौं भने, पछि हामीले पश्चाताप गर्नको लागि समेत समय पाउने छैनौं। आउनुहोस्, दस्तालाई दोस्तीमा बदलौं। | |
| मैले यस्ता कुरा गर्दा धेरैले ब्राम्हणवादीको चाकडी गरेको भने। कसैले भाडाको चम्चा भने। मेरै प्रियजनहरुले समेत तेरो अघायो र यस्तो कुरा गर्न थालिस् भने तर मलाई अफसोस् छैन। | |
| म सबैसँग विनम्र अनुरोध गर्छु, कसैले हेपिएको महशुस गर्छ भने हेपिने वातावरण सिर्जना नगरौं। पछाडी पारिएको महशुस गर्छ भने अगाडी ल्याउन सहयोग गरौं। अधिकार माग्दा अरुलाई शत्रु नभनौं। अधिकार दिदा आफ्नो भाग खोसिएको पनि नठानौं। जे गरेर हुन्छ विभाजनको रेखा मेट्न तिर लागौं। फेरि भन्छु, आउनुहोस्, दस्तालाई दोस्तीमा बदलौं। |
Saturday, 13 July 2013
आउनुहोस्, दस्तालाई दोस्तीमा बदलौं
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment