Tuesday, 6 November 2012


सयपत्री र मखमली फुलिरहनेछन, धानका बाला झुलिरहनेछन !




दोबाटोमा बर्षौं पहिलेदेखि सानो चिया पसलमा चिया फिट्ने भाउजुको पसल उस्तै देखेँ । उकालीमा ढुङ्गाको भारी बोक्ने भरियादाईको जिन्दगी त्यस्तै भेटेँ । गाउँमा छँदा कहिले कसो पसिने साईलीको भट्टीमा केही परिवर्तन भेटिन, आफु पढने सरकारी स्कुलको रुपरङ्गमा केही नयाँपन देखिन । तर पनि मनलाई शान्ति मिल्यो, म संगैका धेरै दौंतरीहरुलाई सही सलामत भेटेँ, निर्मल भेटेँ, निश्चिन्त भेटेँ र अनि निश्वार्थ भेटेँ । परापूर्वकाल देखिका संस्कृति र सभ्यताप्रति अझै चिन्तीत देखेँ, बेलगाम भित्रिएका बिदेशी बेथितिहरु प्रति सजग भेटेँ । खुशी लाग्यो मलाई, जव सवै दौंतरीहरु राजधानीको प्रदुषण र राजनेताहरुको दुर्गन्धबाट अछूतो भेटेँ ।
गाउँको छेवैको झुपडीमा आरन थापिबसेका कामीदाईको झुपडीपनि रङ्गीएको भेटेँ, म संगै खेल्ने उन्को छोरा १० वर्ष बिदेशमा बसेको कमाईको फल देखेँ । मेरो घर संगैकि दमिनि बज्यैको नातीनातिनाहरु गृहकार्य गर्दै गरेको भेटेँ, बज्यैको आखाँमा छोरा बिदेशमा अकालमा मरेको दुख संगसंगै नातीनातिनाहरुबाट भविष्यमा सुखको आसा सहितको सानो त्यान्द्रो देखे । टपरीमै सही सवैले मिलिजुली, बाँडीचुडी खाएको देखेँ, झ्याउरे र लोकदोहरीमा मन फुकाएर संगसंगै नाचेको भेटेँ । राजधानीको उकुसमुकुस भन्दा नितान्त बेग्लै प्रवृत्ति देखेँ, मनोविकारले ग्रसित राजधानीका पात्रहरु भन्दा सक्षम, स्वाभिमानी, स्वकर्मी र स्वधर्मी पात्रहरु भेटेँ । आफैलाई नियालेर हेरेँ, आफ्नो मनोदशासंग दरिद्रता जागेर आयो । गाउँठाउँका पात्र र प्रवृत्तिसंग डाहा लागेर आयो ।
आखिर किन यति विघ्न सरल, सहज र सरस छन त गाउँले पात्र र प्रवृत्तिहरु ? उत्तर पनि सजिलै पाएँ, उनीहरुको हाँसोमा कुनै स्वार्थ छैन, उनीहरुको रोदनमा कुनै आशक्ति छैन । कसैसंग जित्नु छैन, कसैसंग हार्नु छैन, केही गुमाउनु छैन, केही पाउनु छैन । नेताहरु, प्रधानमन्त्रीहरु र धेरै मन्त्रीहरु यिन्ले पचाईसके, राजादेखि राष्ट्रपतिसम्मको शासन यिन्ले डकारीसके । यिन्लाई थाहा भईसक्यो राजनेताहरुको मोल, यिन्ले थाहापाईसके तिन्ले ओढने थरिथरिका थाङने खोल । यसैले यी निश्चिन्त छन- आफनो सुरक्षित भविष्यसंग, यसैले यी र्निविकल्प देख्छन आफना पौरखहरुलाई । नेताहरु भनेका अजम्वरी छैनन, न त अमर नै रहनेछन – यिन्लाई थाहा छ नेताहरु रहेपनि नरहेपनि, नेताहरु भएपनि नभएपनि – पाखाभरि सयपत्री र मखमली फुलिरहनेछन, खेतैभरि धानका बाला लहलह झुलि रहने छन् ।

No comments:

Post a Comment