Saturday, 29 September 2012

मानविय विवेकको वकालतगर्ने कविताहरु -

 छविरमण सिलवाल :-

लुगाले छोपिएर के गर्नू म त सबैलाई नाङ्गो देख्छु अचेल ,
उद्देश्यहीन कर्म र गन्तव्यहीन यात्रा,
 विचाररहित मस्तिष्क र भावनाविहीन ह्ृदय,
 नाङ्गो हुन वस्त्रहीनताको के आवश्यकता ?
 भ्रम मान्छेहरु एकले अर्काेलाई जिस्काइरहेछन् र एकार्कामा चलिरहेछ ठठ्ठैठट्टा र हाँसोहरु आज कपडाको कोठी नै उत्सव छ नग्न सम्भ्रान्तहरुको
 पृ.७७ यी पंक्तिहरु श्याम रिमालको नयाँ कविता संग्रह ‘त्रिशूलीको किनाराबाट’ मैले लिएको हुँ ।
 सत्यको उजागर गरिरहेका छन यी पंक्तिहरुले । विना उद्देश्य चलिरहेकका हाम्रा पाइलाहरु केवल मानव हुनुका अर्थ विर्सेर अनेकन भ्रमहरुमा बाँच्न बाध्य भएका छन् । मान्छेले मानविय मुल्य मान्यताहरु विर्सेर हत्या, हिँसाका खाडलहरुमा आफूलाई धकेलिरहेका छन् ।
स्वार्थ नै स्वार्थहरु विच रहेर हामीले भाईबन्धुत्वको नाता विर्सिरहेको छौं । यस्तै पिरलोले निकै सताएको छ कविलाई र यस्तै पिर व्यथाहरुलाई त्रिशूलीको किनारमा बसेर निहालिरहेका छन् । पेशाले सञ्चारकर्मि धेरै नलेख्ने प्रचार प्रसार पनि त्यति नरुचाउँने तर आफ्नो कर्ममा निकै विश्वास बोक्ने गरेका एक जना युवास्रष्टा हुन श्याम रिमाल ।
कविता, गीत, गजल, हाईकु र उपन्यासमा निरन्तर कलम चलाईरहेका रिमालको ‘एउटा काँडा बिझ्दा’ (२०४८) गीतसंग्रहको प्रकाशन भएको थियो । त्यस पछि पुस्तक प्रकाशनका हिसावले लगभग अठार वर्षपछि निकै सशक्क्त कविताहरुको संग्रह ‘त्रिशूलीको किनाराबाट’ लिएर आएका छन् । कविता लेखनको तिस वर्षेमा चुनिएका साठी ओटा कवितारु रहेका छन् यस संग्रहमा रिमालका । हामीलाई यो तिस वर्षको अन्तरालको समयमा निकै उतार चढाबहरुको सामना गर्नू परेको थियो ।
समयले छोडेका वाछिटाहरुले हामीलाई निकै कमजोर बनाए पनि हामीले मुकाविला गर्ने छोडेनौ दिनहरु वित्दै गए । यीनै हामीलाई पच्छाई रहेका सत्य, न्याय, राजनीति, युद्ध, नैतिकता आदि अनेकौ वैचारिक कुराहरुलाई विषय वस्तु बनाएर रचिएका कविताहरुलाई हामीले ‘त्रिशूलीको किनाराबाट’मा पढ्न सक्छौ ।
 यसका साथै यी कवितारुले मानविय विवेकको वकालत गर्दै शोषित र उत्पीडितका कथाहरुलाई प्रतिकात्मक रुपमा बुन्न सफल भएका पनि छन् । हामीले देखेका छौ कतिपय मान्छेहरु गाउँबाट शहर पसेपछि शहरको रमझमा भूलेर गाउँलाई विर्सन्छन् तर, गाउँबाट शहर छिरेका निकै समय विते पनि रिमालले गाँउलाई विर्सन सकेका छैनन्, गाऊँको मायाले निकै सताई रहन्छ कविलाई र शब्दहरु मार्फत सम्झन्छन् प्यारो गाउँलाई र त्रिशुलीको किनारमा रमेका ति दिनहरु सम्झिन्छन् ‘त्रिशूलीको किनाराबाट’ कविता संग्रहमा । वैचारिकरुपमा रिमालका कविताहरु प्रगतिवादको समीप्यमा रहेर मानविय मूल्यको खोजि गर्दे रहेका पाइन्छन् । आफ्नो जन्मभूमिको सेरोफेरोमा पर्यावरणका प्रतिकका रुपमा लेखेका कविता पनि यससंग्रहमा समावेश भएको छ साथै ऐतिहासिक, सास्कृतिक विम्वहरु पनि यस संग्रहमा भेट्न सकिन्छ । राष्ट्रिय स्वभिमानका साथ विकसित मुलुकका उपदानहरुको बिम्बरचनामा कवि चुकेका छैनन्, यसलाई पनि कविले आफ्नो कवितामा समावेश गर्न सफल भएका छन् । राजनीतिक विकृतिहरुलाई पनि छेडेका छन् । मुलतः कविले राष्ट्रिय, जीवनमूलक मानविय भावनाको प्रस्तावमा धेरै ध्यान दिएर कविता लखेका छन् । यो कवि धर्म पनि हो । यहि कवि धर्मको दायराभित्र रहेर जीवनको शाश्वत मूल्यको खोजी गर्दै, जीवनका यीनै मूल्यहरु भाव, आक्रोश अनि संवेदनाहरुलाई सरल र कलात्मक ढंङ्गले कुद्न सफल भएका छन् ‘त्रिशूलीको किनाराबाट’ कविता संग्रह मार्फत । गाउँहरु सभ्यता खोज्न सहर पसेका छन् सहर आफैँ भने आँगनमा सुची गर्छ र मुखमा कट्टु लगाउँछ भाषा बिर्साइ–सम्पन्नता संस्कृति छोडाई–आधुनिकता र मानवता चिम्ल्या–व्यस्तता ! छोरा– बाबुसंगै निलो चलचित्र हेर्छ छोरी– आमासंगै गणिकालय पुग्छे र,लक्ष्मण रामसंगै शुपर्णखा भोग्छ मिठो खानेहरु नमिठो वचन छाड्छन् सुकिलो लाउनेहरु अर्कालाई दाग लगाउँछन् र आफू फुत्त उम्कन्छन् ........

 पृ.१७ हो साँच्चै नेपाली सभ्यताहरु यस्तै भै रहेका छन् आजकल । सभ्यता शिर्षकको यो कविताले अहिलेको परिवेशलाई चित्रण गर्दै सत्यको उद्घोष गरेको छ । यस्तै लघु आकारका कविताहरु रहेको यस संग्रहमा यस्तै निकै चोटिला कविताहरु पढ्न सकिन्छ । वर्तमान परिवेशसंगै हामीलाई युद्धले दिएका चोटिला घाउँहरुले कविको हृदयलाई निकै आहत तुल्याएको पनि छ । कवि एउटा आफैमा द्रष्टा पनि भएको नाताले यस समाजबाट टाढा रहन सक्त्तैनन्, त्यसकारण समयले दिएका सबै उपहार सम्झेर ग्रहण गर्नू परेको छ । तेसर्थ ति नमिठा क्षणहरुलाई पनि कविले काव्यमार्फत पुस्तकमा सजाएका छन् । त्रिशूलीको प्रवाहजसरी अविराम काव्ययात्रामा क्रियाशील रहेका कवि श्याम रिमालले आफ्नो जन्मभूमिको गाथासंगै हाम्रा भोगाईहरुलाई पनि काव्यमार्फत पस्केका छन् । यर्थाथपरक, प्रगतिवाद र मानविय मूल्यको खोजि गर्दै अगाडी वढेको रिमालको काव्य यात्रा त्रिशूलीको प्रवाह झैं निर्मल र शितल जल जस्तै निरन्तर वहिरहोस । अन्तमा यस काव्यकृति भित्र रहेका कविताहरु केहि लामा र केहि अत्यन्त छोटा रहेका छन् मुक्तक शैलीका जस्ता लाग्ने यी कविताहरु साँच्चै नै उत्कृष्ट रहेका छन् । रिमाललाई अझै निरन्तरताको खाँचो भने खड्किरहेको जस्तो लाग्छ । अब उनको नयाँ कृति हामीले पढ्नको लागि लामो समय कुर्नू नपरोस । त्रिशूलीप्रवाह साप्ताहिक पत्रिकाले प्रकाशनमा ल्याएको यस कृतिको मूल्य रु.२५० चाहिं अलिक चर्को हो कि ?


समकालीन साहित्यिक रचना

No comments:

Post a Comment